र्म निरपेक्षता र कमल थापाको उल्टो रथयात्रा (मोहन गोले)
विषय प्रवेशः
नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउन थप दबाब दिने उद्देश्यले पुष ९ गतेदेखि मेची–महाकाली रथयात्रा सञ्चालन हुँदैछ । यो रथयात्राको संयोजन दोस्रो जनआन्दोलन ०६२÷६३ लाई दबाउन न्वरानदेखिको बल लगाउने कमल थापाको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले गरेका हुन् । रथयात्राकै पूर्वसन्ध्या पारेर केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्र पनि तराईको शितलहरको पर्वाह नगरी मध्य तराईका हिन्दू शक्ति पीठहरुमा पूजापाठ गरिहिँड्दै छन् । सास हुन्जेल आश हुन्छ भने झैँ उनलाई अझै परमेश्वरको अनुकम्पाले केही भइहाल्छ कि भन्ने छ । यो आश ज्ञानेन्द्र जिवित छउञ्जेल रहने देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनमा पनि ज्ञानेन्द्र र कमल थापाले एकसाथ जिब्रो बाएका थिए तर जिब्रो बाउँदा नबाउँदै दुवैले ओठ, तालु सुकाउनु प¥यो ।
राजतन्त्र र हिन्दू राष्ट्र एकअर्काका पर्याय हुन् । विगतमा राजतन्त्रले हिन्दू राष्ट्रको संरक्षकको भूमिका निर्वाह गथ्र्यो भने हिन्दू राष्ट्रले राजतन्त्रलाई मलजल गर्ने काम गर्दथ्यो । ती दुईमध्ये एकको अभावमा अर्को रहन सक्दैन । २०६३ जेठ १५ गते नेपाली जनताको प्रतिनिधि संस्था व्यवस्थापिका संसद्ले ती दुवैको विधिवत् अवसान गराएका थिए । तर ८ वर्ष वित्दा नवित्दै फेरि १० वर्षे माओवादी जनयुद्ध, ०६२÷६३ को जनआन्दोलनको भावना र मर्म विपरित हिन्दू राष्ट्र व्युँताउने प्रयासहरु हुन थालेका छन् । संविधान निर्माणको तिथि नजिकिँदै जाँदा सुरु गरिएका यस्ता रथयात्राले कस्तो प्रभाव पार्ला ? सोचनिय विषय बनेको छ ।
धर्म के हो ?
प्रत्येक मानिस वा मानव समुदायको आ–आफ्नो जीवन पद्दतीहरु हुन्छन् । जीवनको विभिन्न पक्षलाई नियमित गर्नको लागि परिवार, समाज र समुदायको बीचमा विभिन्न मूल्य÷मान्यता र संस्कारहरु बनाइएका हुन्छन् । यी सामाजिक नियमहरु हुन् । यसलाई त्यो समुदायमा बस्नेहरुले पालना गर्नुपर्ने बाध्यता रहन्छ र यसले समाजलाई एकरुपतामा बाँध्ने काम गर्दछ । यो सामाजिक संस्कारगत मान्यतालाई धर्मले निर्देशन गरेको हुन्छ । यो नै धर्म हो ।
मानवशास्त्री प्रा.डा. ओम गुरुङका अनुसार धर्म एउटा संस्कृतिको अभिन्न अंग हो जसलाई जीवन पद्दती पनि भनिन्छ । मानव समुदायको दैनिक जीवनमा आईपर्ने राजनीतिक, सामाजिक आर्थिक, साँस्कृतिक जीवनलाई नियमित गर्ने जुन संस्कारहरु हुन्छन् त्यो नै धर्म हो । त्यस अनुसार मानिसले आफ्नो किसिमको जीवन पद्दती अपनाउने गर्दछन् । अर्को शब्दमा भन्नुपर्दा धर्म व्यक्ति वा समुदायको आस्था र विश्वास पनि हो जसको आधारमा मानिसको जीवन पद्दतीको निर्माण गरिन्छ । धर्म र संस्कार एउटै कुरा नभएपनि यसको बीचमा नजिकको सम्बन्ध रहेको छ । त्यसैले धर्मले संस्कारलाई प्रभावित गर्दछ ।
कम्युनिष्ट विचारधाराका अनुसार पदार्थभित्र परिवर्तनको स्रोत खोज्ने र पदार्थ बाहिर परिवर्तनको स्रोत खोज्ने दुई धार छन् । आस्तिकले पदार्थभन्दा बाहिर अलौकिक शक्तिमा परिवर्तनको स्रोत खोज्दछ भने नास्तिकले पदार्थ भित्रै परिवर्तनको स्रोत खोज्दछ । त्यसैले माक्र्सले जव द्वन्द्वात्मक भौतिकवादको आविस्कार ग¥यो, कम्युनिष्टहरु स्वतः धार्मिक दर्शनको विरुद्ध उभिन पुगे । विद्वान सीताराम ताामाङका अनुसार सुरुमा धर्मको प्रयोग मानव समाज विकासको विभिन्न चरणमा प्राकृतिक प्रकोपबाट हुने पीडाबाट राहत पाउनको लागि गरेका थिए । मानव समाजको आदिम कालमा उत्पादक शक्तिहरुको निम्न स्तरका कारण प्राकृतिक शक्तिका सामु मानिसको निरीहताले धर्मको जन्म दिएको थियो ।
यसरी मानव समुदायले आफ्नै राहतका लागि स्थापना गरेको धर्मले वर्गीय समाजको जन्मसँगै शोषकवर्गको हतियारको रुपमा काम गर्न थाल्यो । धर्मले शोषक र शासक वर्गको सेवा ग¥यो । जनतालाई अलौकिक शक्तिमाथि निर्भर हुने र भाग्यलाई दोष दिने अर्थात कर्मको फल हो भन्ने धारणाको विकास गरायो । यसबाट उनीहरुको पराधिन मानसिकताले सिर्जनशीलतामा समेत अवरोध गरायो । धर्मले वर्गीय समाजमा मिहनत गरी खाने जनतालाई विश्व बदल्ने संघर्षमा सक्रिय भाग लिनबाट विमुख ग¥यो । यसर्थ, कार्ल माक्र्सले धर्मलाई अफिम भनेका छन् ।
यसरी शासक र शोषक वर्गले धर्मलाई एकलौटी पेवा जस्तो हतियार बनाएर श्रमजीवी वर्गलाई शोषण र उत्पीडनमा पारेको हुँदा उनीहरुले बनाएको धर्म (ईश्वर) को विरुद्ध नयाँ धर्म र ईश्वरको जन्म हुन पुग्यो । यसक्रममा नयाँ नयाँ धार्मिक मान्यताहरुको विकास भयो । यसरी बौद्ध, इशाई, इस्लाम आदि धर्महरु जन्मन पुगेका हुन् । ती धर्महरु शासकवर्गको कब्जामा नपरुञ्जेल विद्रोही र क्रान्तिकारी रहे तर समयक्रमसँगै सामन्तवाद, पुँजीवाद र साम्राज्यवादले धर्मलाई श्रमजीवी जनतामाथि शोषण गर्ने हतियारको रुपमा प्रयोग गर्न थाल्यो । आज पनि विस्तारवाद र साम्राज्यवादले धर्मलाई सर्वहारा वर्गको क्रान्ति होस् या राष्ट्रिय मुक्तिको आन्दोलन होस् ती सबैलाई दबाउने हतियारको रुपमा प्रयोग गर्दै आएको छ । नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने खेल पनि यही षडयन्त्र हो । विगतमा हिन्दू धर्म र राजतन्त्र बीच अन्योन्यास्रित सम्बन्ध थियो । एकले अर्कोलाई रक्षा गर्दथ्यो । तर जव राजतन्त्र ढल्यो, हिन्दू राष्ट्र पनि रहेन ।
तर सबैले बुझ्नुपर्छ कि धर्म मानिसको नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो । धर्मलाई शासकहरुले राजनीतिसँग जोडेर हेर्ने र त्यसलाई राजनीति गर्ने अस्त्र बनाइएको कारण हिन्दूधर्ममाथि आम परिवर्तन पक्षधरहरुको अनास्था बढेर गयो । फेरि पनि केही व्यक्ति र संगठन यसको लागि जोडतोडका साथ लागेका छन् तर अव यो सम्भव छैन ।
धर्म निरपेक्षता:
माथि नै भनियो कि नेपाल धर्म निरपेक्ष मुलुक घोषणा भइसकेको छ । २०६३ जेठ १५ गते बसेको व्यवस्थापिका संसदले सर्वसम्मत रुपबाट नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरेको हो । ८०% भन्दा बढी हिन्दू सभासद् भएको संसदले नै परिवर्तनलाई आत्मसात् गर्दै धर्मनिरपेक्षताको संवैधानिक व्यवस्था गरेको हो । यसलाई नेपालको अन्तरिम संविधान २०६३ ले समेत संस्थागत गरिसकेको छ र धारा ४ (१) मा 'नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्म निरपेक्ष, समावेशी, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो' उल्लेख छ । त्यसैले अव पनि धर्म निरपेक्षताको विरुद्धमा बोल्नु भनेको संविधानको बर्खिलापमा जानु हो । अहिले संविधानमा लिपिवद्ध भइसकेको कुरालाई उल्टाएर केही मान्छेहरु द्वन्द्व निम्त्याउने कोशिसमा छन् । त्यसको अगुवाई कमल थापाले गरिरहेको छ भने कांग्रेस, एमाले जस्ता पार्टीहरुले समेत जनताको नाडी छाम्नको लागि खुमबहादुर खड्काजस्ता मान्छेलाई उकास्दै छन् । तर अव यो काम गर्न तिनका तागतले पुग्दैन । देश धर्म निरपेक्ष भइसक्यो, अव पछि हट्न मिल्दैन, सक्दैन । यो १० वर्षे माओवादी जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन र आदिवासी जनजाति, मधेशी/मुस्लिम आन्दोलनको उपलब्धि हो ।
धर्म निरपेक्षताको मूल भावना धर्म र राज्य अलग हुने भन्ने हो अर्थात राज्यको कुनै धर्म हुने छैन भन्ने हो । यसमा राज्यले कुनै धार्मिक कार्यमाथि र धर्मले राज्यको कुनै काम कारवाहीमा हस्तक्षेप गर्ने प्रक्रियाको अन्त गर्दछ । निरपेक्षतामा राज्यले कुनै एउटा धर्मलाई बोकेर हिँड्न मिल्दैन । तर नेपाल लामो समयसम्म सापेक्ष हिन्दू राष्ट्र कायम रहेको कारण अहिले निरपेक्षतामाथि प्रश्न खडा गर्ने अतिवादी समूहले उग्र नारा उछालिरहेका छन् । उनीहरु ८१% सनातन हिन्दू धर्मावलम्बी रहेको देश भन्छन् । यो भन्दा उनीहरुसँग अरु तर्क छैन । उनीहरुले बुझ्नुपर्छ कि धार्मिक जनसंख्या स्थीर चिज होइन । आज ८१% हिन्दू छन्, भोली बौद्ध या अन्य धर्मावलम्बीको जनसंख्या पनि त्यति पुग्न सक्छ । त्यतिबेला फेरि बौद्ध राष्ट्र या मुस्लिम राष्ट्र घोषणा गर्ने हो र ? त्यसैले धर्म सापेक्ष र निरपेक्षताको सवालसँग धार्मिक जनसंख्यालाई जोडेर हेर्न मिल्दैन । यसलाई त व्यक्ति र समुदायको धार्मिक स्वतन्त्रताको सवालसँग जोडेर हेर्नुपर्छ ।
धर्म निरपेक्षताको आन्दोलन भनेको राज्यबाट धर्मलाई अलग गराउने संघर्ष मात्र हो । राज्यले कुनै धर्मलाई काखा र कुनैलाई पाखा लगाउने नीतिको विरुद्धमा हो । अन्धजातिवाद विरुद्धको लडाइँ हो धर्म निरपेक्षता । बुद्ध जन्मेको देश नेपाल धर्म निरपेक्ष हुनुपर्छ भनेर ७० वर्ष अघिदेखि धर्मोदय सभाले आवाज उठाउँदै आएको थियो । यसैगरी हिन्दू बाहेकका थुप्रै धर्मावलम्बीले यो विषयमा बहस चलाउँदै आएका थिए । त्यो सबैको आवाजलाई संस्थागत गरिएको मात्र हो । अतिवादीहरुले धर्मलाई राज्य सापेक्ष बनाउँछन् र कुनै अमुक धर्मलाई राज्यको ढिकुटीबाट अरबौं खन्याउँछन् । तर राज्यको काम भनेको सबै धर्म समुदायहरुलाई बराबरी मान्यता दिने, प्रचार प्रसार गर्न दिने, विकास गर्न पाउने लगायतका विषयमा सहजिकरण गर्ने मात्र हो । नागरिकले जुन धर्म मान्दछ, त्यो धर्मलाई राज्यले विना भेदभाव, विना अवरोध सबै धर्महरुलाई फस्टाउन पाउने वातावरण र अवसर उपलब्ध गराइदिने हो । यो धर्म मान्नुपर्छ, अर्को धर्म मान्नु हुँदैन भन्ने जस्ता मान्यता र धार्मिक नीति राज्यले बनाउनु हुँदैन ।
केहीले धर्म निरपेक्षता हिन्दू धर्मको विरुद्धमा हो भन्ने भ्रम फैलाइरहेका छन् । दोश्रो संविधानसभाको निर्वाचनमा गाच्छी र बाच्छी, सुगा र रुगाको नारामा एउटै पार्टीप्रति आस्थावान मतदाताहरुले दुईवटा पार्टीलाई मत बाँडेर मतदान गर्नुले पनि हिन्दू अतिवादीहरु मुलुकलाई प्रतिक्रान्तिमा धकेल्न उद्यत छन् भन्ने देखिन्छ । तर बुझ्नुपर्ने के हो भने धर्म निरपेक्षता भनेको हिन्दू धर्मलाई निषेध गर्नको लागि होइन । आज मुलुकमा धर्म निरपेक्षता घोषणा गरिएको ७÷८ वर्ष भइसक्यो, हिन्दूधर्मलाई कसले के अन्याय गरेको छ ? जनगणनामा उसको अझ प्रतिशत बढिरहेकै छ । धर्म निरपेक्षता भनेको अरु धर्म सरह सबैको बराबरी विकास गर्ने भनेको हो । यसमा राज्यबाट कुनै अमुक धर्मलाई विशेष खालको सेवा, सुविधा, अवसर उपलब्ध गराउने र अर्कोलाई निषेध गर्नु मिल्दैन । एउटा जात, समुदायको धर्म हिन्दू नजिकको साँस्कृतिक पर्व दशैं, तिहारमा राज्यले अनेकन खालका सेवा, सुविधा र प्रचारप्रसार गरिन्छ । तर अन्य जाति, समुदायको साँस्कृतिक पर्वमा कुनै सेवा, सुविधा राज्यले उपलब्ध गराउदैन । यसर्थ, धर्म निरपेक्षता भएपनि अझै मुलुकमा हिन्दू राज्यको प्रभाव र त्यसबाट सिर्जित विभेद कायम रहेको स्पष्ट हुन्छ ।
यसबाट प्रस्ट हुन्छ, जातप्रथामा आधारित हिन्दू वर्ण व्यवस्थालाई हिन्दू धर्म र खस अभिजात वर्गको सत्ताले अझै घोषित÷अघोषित रुपमा संरक्षण गर्दै आएको छ । जसले गर्दा हिन्दू बाहेकका धर्मावलम्बी र हिन्दू अन्तर्गतका दलित समेतले उत्पीडन भोगिरहेका छन् । यसर्थ, ती समुदायहरुमा धर्म त्याग्ने र साम्राज्यवादी शक्तिबाट प्रायोजित धर्म अंगाल्ने क्रम बढेको पनि देख्न सकिन्छ । जस्तोः २०४८ सालमा इशाई धर्मावलम्बीको जनसंख्या ३५२ मात्र थियो । २०५८ सालमा यो संख्या बढेर १३७२ पुग्यो भने २०६८ सालमा ६४६६ पुगेको छ । यो वृद्धिदर २७.३७% हो । बाँके जिल्लामा मात्र इशाई धर्मावलम्बीको वृद्धिदर ३७१% पुगेको छ । यसमा मुख्यतः विगतमा राज्यको एकल हिन्दूवादी नीति जिम्मेवार छ ।
निष्कर्ष:
आज कमल थापाहरुले धर्मलाई राजनीतिको साधन बनाउँदै दौडेका छन् । उनले यसैलाई साधन बनाउँदा दोस्रो संविधानसभामा २४ सीट पाए । त्यो मत हिन्दू अतिवादी भ्रममा परेका र पारिएका जनताको मत थियो । विचारणीय पक्ष यो छ कि उसलाई समानुपातिकमा मत दिने जनताले प्रत्यक्षमा मत दिन सकेनन् । यसले प्रस्ट पार्छ, उनले हिन्दू अतिवादको भ्रम छर्न त सके तर राजतन्त्रको रंग दल्न सकेनन् । मानिसलाई भ्रममा पार्ने, गुमराहमा राख्ने भनेको निश्चित समयसम्म हो । निरन्तर यसैलाई साधन बनाएर गरिखान्छु भन्यो भने त्यो सम्भव हुँदैन । ठूला दलहरुले सहमतिमा संविधान जारी गर्न नसक्दा उसले यो मत पाएको थियो । केही मतदाताहरु सौताको रीसले लोग्नेको काखमा पिशाव फेर्न पुगेका मात्र हुन् । सधैंभरि जनताले यो गल्ती गर्दैन । तसर्थ, संविधान निर्माण गरी देश र जनतालाई अग्रगतितर्फ हिडाउनु पर्ने बेलामा उल्टो रथयात्रा सञ्चालन गरेर प्रतिगामी बाटो तताउने कमल थापालाई भावी दिनमा कहाँ पु¥याउला ? हेर्न बाँकी छ ।
No comments:
Post a Comment